• Menu

सुस्तायो सेयर बजार, नेप्से परिसूचकसँगै घट्यो कारोबार

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १५:२८

सुस्तायो सेयर बजार, नेप्से परिसूचकसँगै घट्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १०.६७ अंकले घटेको छ । बिहीबार ७.१७ अंकले बढेको नेप्से आजको गिरावटपछि २६१८ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

सबै समूहगत परिसूचक घटेका छन् । अन्य समूह १.०६ प्रतिशतले घट्दा व्यापार समूह ०.६८, जलविद्युत ०.६६, विकास बैंक ०.५४, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.४४, वित्त ०.४३, जीवन बिमा ०.३७, लगानी ०.१९, होटल तथा पर्यटन ०.१०, बैंकिङ ०.०४ तथा निर्जीवन बिमा समूह ०.०४ प्रतिशतले घटेका छन् ।

समूहगत कारोबारमा जलविद्युत समूह अगाडि रहेको छ । उक्त समूहमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो कुल कारोबारको करिब ६० प्रतिशत हो। वाणिज्य बैंकको ३३ करोड तथा उत्पादन तथा प्रशोधन समूहको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावर १३.८६ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ५.५१ प्रतिशत र हाथवे इन्भेस्टमेन्ट ४.९९ प्रतिशतले बढेका छन् ।

यता धौलागिरि लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ४.१७ प्रतिशत र ग्रामीण विकास लघुवित्त ३.८७ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माई हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी र साहस ऊर्जा अगाडि रहेका छन् ।