• Menu

मैलुङखोला, रसुवागढी र चिलिमे हाइड्रोको सेयर मूल्यमा १० देखि १५ प्रतिशतसम्मको गिरावट

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १५:५०

मैलुङखोला, रसुवागढी र चिलिमे हाइड्रोको सेयर मूल्यमा १० देखि १५ प्रतिशतसम्मको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३ अंकमा झरेको हो ।

कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा केही घटेको छ । आइतबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो ।

सोमबार बजार खुलेदेखि नै नेप्से रातोमा रह्यो । दिनभरको कारोबारमा २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो ।

बाढीपछि तीन समूहमा उच्च दबाब

गत बुधबार आएको भीषण बाढीपछि सेयर बजारमा विशेषगरी तीन समूह उच्च दबाबमा छन् । सोमबार पनि निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा उच्च गिरावट देखिएको छ ।

निर्जीवन बीमा समूह सर्वाधिक ५.०३ प्रतिशत घटेको छ । त्यस्तै अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशत घटेको छ ।

बाढीपहिरोका कारण एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएपछि जलविद्युत् कम्पनीको सेयरमा नकारात्मक प्रभाव परेको हो । त्यस्तै बाढीका कारण सवारीसाधन, घर तथा जलविद्युत् आयोजनामा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बीमा कम्पनीमाथि दबाब बढेको देखिन्छ ।

‘अन्य’ समूहमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सलगायतका कम्पनी पर्छन् । पुनर्बीमा कम्पनीमा समेत बाढीपहिरोबाट हुने ठूलो बीमा दाबीको सम्भावनाले लगानीकर्ताको मनोविज्ञानमा असर गरेको देखिन्छ ।

यसअघि जेनजी आन्दोलनका क्रममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी गरेजस्तै रसुवा बाढीमा पनि बीमा कम्पनीहरूले अग्रिम भुक्तानी गर्लान् भन्ने विषय अहिले चर्चामा छ ।

अधिकांश उपसमूह घटे

जलविद्युत्, निर्जीवन बिमा र अन्य समूहसँगै सोमबार अधिकांश उपसमूहमा गिरावट आएको छ ।

बैंकिङ समूह १.०० प्रतिशत, विकास बैंक ०.९६ प्रतिशत, वित्त १.४१ प्रतिशत, होटल तथा पर्यटन २.४४ प्रतिशत, लगानी १.१९ प्रतिशत, जीवन बिमा १.९७ प्रतिशत, लघुवित्त १.१४ प्रतिशत र व्यापार समूह १.११ प्रतिशत घटेका छन् ।

तर उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढेको छ । बाढीपहिरोपछि पुनर्निर्माणको काम बढ्दा सिमेन्टको खपत बढ्ने अनुमानसँगै सिमेन्ट कम्पनीको सेयरमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

उपकार लघुवित्तको मूल्यमा उच्च वृद्धि

सोमबार उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ । त्यस्तै घोराही सिमेन्टको ७.५७ प्रतिशत, पाल्पा सिमेन्टको ४.०३ प्रतिशत र एसवाई प्यानलको ३.९१ प्रतिशत मूल्य बढेको छ ।

यसको विपरीत मैलुङखोला जलविद्युत्को सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशत घटेको छ । रसुवागढी हाइड्रोपावरको ११.७६ प्रतिशत, चिलिमे हाइड्रोपावरको १०.४९ प्रतिशत र माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घटेको छ ।

शिवम् सिमेन्टमा सर्वाधिक कारोबार

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । त्यसपछि सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल क्रमशः धेरै कारोबार हुने कम्पनी बनेका छन् ।

समग्रमा बाढीपहिरोका कारण जलविद्युत् तथा बीमा क्षेत्रमा देखिएको जोखिम र त्यसले लगानीकर्ताको मनोविज्ञानमा पारेको प्रभाव सोमबारको सेयर बजारमा समेत स्पष्ट देखिएको छ ।