काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो सो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ हो ।
गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो सो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ । तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल/मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिएको छ ।
यो पेभिलियनमा नेपाली उद्योगले उत्पादन गरिरहेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न कम्पोनेन्टबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ । नाडाका अनुसार यस पेभिलियनमा ८ वटा स्टल रहेका छन् ।
नेपालमै बनेको गाडीदेखि ब्याट्रीसम्म
यसपटकको पेभिलियनको सबैभन्दा आकर्षक पक्ष भनेको नेपालमा उत्पादन र एसेम्बलिङको सम्भावना देखाउने प्रयास हो । यात्रीको विद्युतीय स्कुटर, नेपालमा एसेम्बल गरिएका मेटा ईभीदेखि हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले स्वदेशमै अटोमोबाइल उद्योग विकास गर्न सकिने सम्भावना देखाइरहेका छन् ।
गाडी उत्पादनका लागि आवश्यक सबै सामग्री नेपालमै बन्ने अवस्था अझै बनिसकेको छैन । तर ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, विभिन्न कम्पोनेन्टलगायतका क्षेत्रमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको छ । त्यसैले यो पेभिलियन केवल उत्पादनको प्रदर्शनी नभई नेपालको अटोमोबाइल उद्योग कहाँ पुगेको छ र कहाँ पुग्न सक्छ भन्ने बुझ्ने अवसर पनि हो ।
परिवारसँग जाँदा बालबालिकाका लागि पनि फरक अनुभव
अटो सोमा ठूला र महँगा गाडी हेर्नुमात्र होइन, आफ्नै देशमा के उत्पादन भइरहेको छ भन्ने बुझ्न पनि सकिन्छ । परिवारसँग जाने अभिभावकले बालबालिकालाई नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी र रोजगारी सिर्जनाबारे प्रत्यक्ष रूपमा देखाउन सक्ने अवसरका रूपमा पनि यो पेभिलियनलाई लिन सक्छन् ।
अटो सो आयोजक नाडाका संयोजक अनुप बरालका अनुसार यसपटक तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन् । यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन् ।
त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, अटो पाट्र्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् ।
परिवारसँग के हेर्ने ?
परिवारसँग अटो सो पुग्दै हुनुहुन्छ भने घुमाइलाई केही व्यवस्थित बनाउन सकिन्छ । पहिलो, ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियनमा पुगेर नेपाली उत्पादन र एसेम्बलीबारे जानकारी लिनुहोस् ।
दोस्रो, आफूलाई मन परेको नयाँ ईभी, कार वा मोटरसाइकलको मूल्य, रेन्ज, फिचर्स र बिक्रीपछिको सेवाबारे कम्पनीका प्रतिनिधिसँग बुझ्नुहोस् ।
तेस्रो, बालबालिकालाई नयाँ प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिनुहोस् । यसपटक अटो सोमा ह्युमानोइड रोबोट र क्वाड्रुपेड रोबोटसमेत विशेष आकर्षणका रूपमा राखिएका छन् ।
चौथो, तत्काल गाडी किन्ने योजना नभए पनि विभिन्न ब्रान्डको प्रविधि र मूल्य तुलना गरेर भविष्यका लागि जानकारी संकलन गर्न सकिन्छ ।
नाडा अटो सो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्, ‘परिवारसँग अटो सो घुम्ने हो भने विदेशी ब्रान्डका चम्किला गाडी मात्र होइन, नेपालमै बन्न थालेका सवारी र अटोमोबाइल सामग्रीको कथा पनि हेर्न नछुटाउनुहोस् । यसपटकको नाडा अटो सोमा ‘मेड इन नेपाल’ हेर्नु भनेको केवल एउटा स्टल हेर्नु होइन, नेपालको अटोमोबाइल उद्योगको सम्भावना हेर्नु पनि हो ।’