• Menu

भोटेकोशी बाढी : २ हजार ३०१ को उद्धार , ६१६ जनाको शव फेला

नेपाल प्रफिट

२०८३ भदौ १३, शनिबार १०:३८

भोटेकोशी बाढी : २ हजार ३०१ को उद्धार , ६१६ जनाको शव फेला

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो ।

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २ सय ३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्‍चिम ४७ जना गरी ६ सय १६ जनाको शव फेला परेको हो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

दुई हजार ३०१को उद्धार
प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार भएको छ । जसअनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

बाढीमा परी घाइते भएकालाई उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।