• Menu

स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक

नेपाल प्रफिट

२०८३ भदौ १०, बुधबार १०:५८

स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो सो २०२६ (भृकुटीमण्डप, काठमाडौं) मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपाली सडकहरूमा लक्जरी एसयूभीको नयाँ मानक स्थापित भएको छ ।

‘रियल लक्जरी, एज इट सुड बी’ मूल नाराका साथ आयोजित यस अनावरण कार्यक्रममा कम्पनीका उच्च नेतृत्व, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो ।

नयाँ कोडियाक केवल अर्को एसयूभीका रूपमा नभई एक स्पष्ट पहिचानका रूपमा प्रस्तुत भएको छ । सात सिटयुक्त उत्कृष्ट युरोपेली परिष्कार, जसलाई आफ्नो स्तरीय रोजाइ प्रमाणित गरिरहनुपर्दैन, अनुभव गरे पुग्छ ।

यसको प्रत्येक रेखा, सतह र सामग्रीमा चेक शुद्धता र भक्सवागन ग्रुप इन्जिनियरिङको उत्कृष्ट संयोजन देख्न सकिन्छ, जसले गर्दा यसको क्याबिन सातै जनाका लागि एक निजी शान्त आश्रयस्थल जस्तै महसुस हुन्छ ।

भित्र प्रवेश गर्दा यसका विशेषताहरूले स्वतः आफ्नो स्तरीयता झल्काउँछन् । शरीरको बनावटअनुसार आराम दिने ‘एर्गो सिट्स’, सडकको अवस्था पहिले नै पहिचान गर्ने ‘म्याट्रिक्स एलइडी हेडलाइट्स’ र हरेक नियन्त्रणलाई सहज बनाउने आधुनिक ‘स्मार्ट डायल्स’ । यो त्यस्तो लक्जरी हो, जुन बाहिरबाट देखिने रूपमा मात्र सीमित नभई ढोका बन्द गर्दा प्राप्त हुने वास्तविक अनुभवमा मापन हुन्छ ।

गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकका साथ नेपालमा केवल एउटा गाडी मात्र नल्याएको लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेको बताए ।

भेरियन्ट र मूल्य

नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन भेरियन्टहरूमा उपलब्ध गराइएको छ :

लाउन्ज : रु २,१९,९०,०००

स्पोर्टलाइन: रु २,३९,९०,०००

सिलेक्सन एल एन्ड के: रु २,३९,९०,०००

नयाँ कोडियाक अगस्ट २५ देखि ३० सम्म भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो सो २०२६ को स्कोडा पेभिलियनमा अवलोकनका लागि राखिएको छ ।