• Menu

नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १३:३५

नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो। विपद्को कठिन समयमा प्रभावित क्षेत्रको तत्काल राहत तथा पुनरुत्थानका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको नाडाले जनाएको छ।

बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नाडाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नाडाले राष्ट्रिय विपद्को समयमा राज्यसँगै निजी क्षेत्र र नागरिक समाजले पनि सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। नेपालका अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन समेत नाडाले आह्वान गरेको छ।

विपद्पछि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र सक्रियताप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ। सरकारले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको भन्दै नाडाले सरकारको प्रयासको प्रशंसा गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयास आवश्यक रहेको बताए। प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा उनले जोड दिए।

यसैबीच, भोटेकोशी बाढी नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भए पनि आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने भएकाले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ।

नाडाले विपद्को सामना गर्दै आर्थिक गतिविधिलाई समेत निरन्तरता दिन सबै पक्षलाई आ-आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न अपिल गरेको छ।