काठमाडौं। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ।
सरकारले प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरिरहेको छ। यसैक्रममा कुमारी बैंक लिमिटेडले कोषमा तीन करोड रुपैयाँ नगद सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग रकम परिचालन गरिने जनाइएको छ। सरकारले विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गर्न इच्छुक संघसंस्था तथा निजी क्षेत्रलाई कोषमा योगदान गर्न आग्रह गर्दै आएको छ ।