काठमाडौं । भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा दूरसञ्चार सेवा प्रभावित भएको छ। बाढीपहिरोबाट मानवीय तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल टेलिकमका विभिन्न स्थानका दूरसञ्चार केन्द्रमा समस्या आएको हो।
नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मतसम्भार, उपकरण व्यवस्थापन तथा जनशक्ति परिचालनलाई तीव्रता दिएको जनाएको छ। रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालनका लागि न्यौपानेचौर र राम्चे पुनःप्रसारण केन्द्रमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत आवश्यक उपकरण पठाइएको छ ।
उक्त उपकरणको व्यवस्थापनपछि न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरिएको छ ।
नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा पनि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सञ्चालनको काम भइरहेको छ । प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त दूरसञ्चार केन्द्रलाई निरन्तर सञ्चालनमा ल्याउन आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गरिएको टेलिकमले जनाएको छ ।
यसैगरी सञ्चालनमा रहेका अन्य दूरसञ्चार केन्द्रको क्षमता र पहुँच बढाउन सेवा सुधार तथा प्राविधिक व्यवस्थापनको काम भइरहेको छ । टेलिकमका अनुसार चितवनका पाँचमध्ये तीन, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ केन्द्र प्रभावित भएका छन् ।
प्रभावित १५२ केन्द्रमध्ये ६० वटा अझै सञ्चालनमा आउन बाँकी रहेका छन्। बाँकी केन्द्रमा पनि सेवा पुनः सञ्चालनका लागि आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य भइरहेको टेलिकमले जनाएको छ ।
विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ। प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाले नागरिकलाई आफन्त तथा सम्बन्धित निकायसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।