सिन्धुपाल्चोक । भोटेकोशी नदीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भोटेकोशी गाउँपालिकाका ६५, बाह्रबिसे नगरपालिकाका ५९ र बलेफी गाउँपालिकाका २९ जना सम्पर्कविहीन भएका छन् ।
त्यसैगरी जुगल गाउँपालिकाका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाढीपछि सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवर जाने विदेशी पर्यटकका गाइड तथा भरिया, व्यापारी, गोसाइँकुण्ड जाने तीर्थयात्री, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा रसुवा भन्सार कार्यालय आसपास व्यापारिक कामका लागि पुगेका नागरिक रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले सम्पर्कविहीन व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रशासनले जनाएको छ।