• Menu

रोजगारीका लागि रसुवा पुगेका रोल्पाका १६ जना बेपत्ता

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १६:१७

रोजगारीका लागि रसुवा पुगेका रोल्पाका १६ जना बेपत्ता

रोल्पा । भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका १६ जना सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० जना र रुन्टिगढी गाउँपालिकाका ६जना सम्पर्कविहीन भएका हुन् ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीका अनुसार वडा नं. ६ का राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा र रविलाल भण्डारी सम्पर्कविहीन छन् ।

त्यस्तै वडा नं. ५ का हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोमबहादुर घर्ती र अनराम पुन तथा वडा नं. ३ का बहादुर पुन पनि सम्पर्कविहीन रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यसैगरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार वडा नं. ८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना जारी गर्दै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका जिल्लावासीको विवरण तत्काल प्रशासन वा प्रहरी कार्यालयमा टिपाउन आग्रह गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन रोल्पावासीको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।