• Menu

नुवाकोटमा वैकल्पिक मार्गबाट विद्युत सेवा पुनर्स्थापना, रसुवामा पनि तयारी तीव्र

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १७:३०

नुवाकोटमा वैकल्पिक मार्गबाट विद्युत सेवा पुनर्स्थापना, रसुवामा पनि तयारी तीव्र

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धारलाई प्राथमिकता दिँदै नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा विद्युत सेवा पुनर्स्थापना गरेको छ। प्राधिकरणका अनुसार अहिले नुवाकोटका अधिकांश स्थानमा विद्युत आपूर्ति नियमित भएको छ।

बाढीका कारण नियमित विद्युत आपूर्ति प्रणाली प्रभावित भएपछि प्राधिकरणले नुवाकोटका अत्यावश्यक स्थानमा वैकल्पिक मार्गबाट विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाएको हो। त्यसका लागि धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभी क्षमताको प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

विद्युत आपूर्ति पूर्ण रूपमा नियमित हुन समय लाग्ने क्षेत्रमा वैकल्पिक तथा ब्याकअप व्यवस्था पनि गरिएको छ। काठमाडौंलगायत स्थानबाट २५-२५ केभीएका दुई वटा तथा ५० केभीए क्षमताको डिजेल जेनेरेटरसहित चार वटा प्राविधिक टोली नुवाकोट पठाइएको छ।

प्राविधिक टोलीले अस्पताल, दूरसञ्चार सेवा तथा अन्य अत्यावश्यक क्षेत्रमा विद्युत आपूर्ति सुचारु राख्न जेनेरेटर जडान गर्नुका साथै वैकल्पिक विद्युत् व्यवस्थापन गरिरहेको प्राधिकरणले जनाएको छ। अत्यावश्यक सेवा प्रभावित हुन नदिन वैकल्पिक स्रोतबाट विद्युत उपलब्ध गराउने काम भइरहेको छ।

यसैगरी रसुवा जिल्लामा पनि विद्युत् सेवा पुनः सञ्चालन गर्न विभिन्न विकल्पको तयारी भइरहेको प्राधिकरणले जनाएको छ। बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको अवस्थाबारे प्राविधिक मूल्यांकन गरी नियमित विद्युत आपूर्ति पुनर्स्थापनाको कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी आवश्यक सबै प्रयास भइरहेको जनाएको छ।