काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा बोल्दै लामिछानेले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले निर्धारित विषयमा धारणा राख्नुअघि बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरे ।
उनले कार्यक्रममा उपस्थित सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गर्दै बाढीले भोटेकोशी र त्रिशूली नदीको जलाधार क्षेत्रमा रहेका बस्ती, जलविद्युत आयोजना, सडक तथा पुलमा क्षति पुर्याएको बताए । बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन भइनसकेको उनले जानकारी दिए ।
लामिछानेले सरकारले सुरक्षा निकायमार्फत खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको र प्रभावित क्षेत्रमा राहत पुर्याउने काम भइरहेको बताए । कठिन परिस्थितिमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्थानीय समुदायप्रति उनले आभार व्यक्त गरे ।
विपद्का समयमा बाह्य सहयोग पुग्नुअघि नै स्थानीय समुदाय पहिलो उद्धारकर्ताका रूपमा परिचालित हुने गरेको उल्लेख गर्दै उनले नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोनमार्फत समवेदना व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएकामा उनले आभार व्यक्त गरे ।
लामिछानेले बाढीबाट नेपालसँगै चीनको सीमावर्ती क्षेत्रमा समेत क्षति पुगेको उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपद्को प्रभाव कुनै एउटा देशको सीमाभित्र सीमित नरहने बताए । नेपाल, भारत र चीन एउटै हिमाली प्रणालीमा रहेकाले नदी तथा जलाधारसँग सम्बन्धित जोखिम न्यूनीकरणमा तीनै देशबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
उनले हिमालयमा जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिएको र हिमनदी पग्लिने तथा हिमताल निर्माण हुने क्रम बढ्दै गएको बताए । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास र विपद्सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न तीन देशले संयुक्त रूपमा काम गर्नुपर्ने उनले बताए ।
‘जलवायु परिवर्तन भइसकेको अवस्थामा अब हामीले अनुकूलनका योजना बनाउनुपर्छ,’ लामिछानेले भने, ‘हिमनदी पग्लिन वा हिउँ खस्नबाट रोक्न नसकिएला, तर त्यसबाट हुने विपद्बारे आश्चर्यचकित हुनबाट आफूलाई रोक्न सक्छौँ।’
प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सके विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा जान पर्याप्त समय उपलब्ध गराउन सकिने उनले बताए । स्थानीय तहदेखि अन्तरदेशीय तहसम्म पूर्वसूचना र जोखिमसम्बन्धी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो ।
बाढीमा आफन्त गुमाएका तथा घरबास गुमाएका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै लामिछानेले विपद्का कारण देश शोकमा रहेको बताए । उनले नेपालप्रति सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने विश्वभरका नेता, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाप्रति धन्यवाद व्यक्त गरे ।
बाढीका कारण कार्यक्रममा तय गरिएको ‘आकांक्षी नेपाल र उदाउँदो भारत स् सँगै हाम्रो भविष्य निर्माण’ विषयमा धारणा राख्न नसकेकोमा क्षमा माग्दै उनले आगामी दिनमा उक्त विषयमा आफ्ना विचार राख्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।