• Menu

विपद्का बेला अफवाह र हृदयविदारक दृश्य नफैलाउन सरकारको अपिल

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १६:१२

विपद्का बेला अफवाह र हृदयविदारक दृश्य नफैलाउन सरकारको अपिल

काठमाडौंं । सरकारले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय संवेदनशीलता कायम गर्दै सूचना, तस्बिर तथा भिडियो सम्प्रेषण गर्न सञ्चारमाध्यम र आम नागरिकलाई आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विपद्का समयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील रूपमा समाचार तथा विवरण सम्प्रेषण गर्न आग्रह गरेको हो ।

मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ ।

त्यस्तै अपुष्ट, कपोलकल्पित तथा कृत्रिम रूपमा बढाइचढाइ गरिएका सूचनाबाट सिर्जित भ्रम र त्रास फैलाउने खालका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमा हृदयविदारक घटनाका तस्बिर, भिडियो वा विवरण पोस्ट तथा रिपोर्ट नगर्न र पीडित तथा परिवारप्रति पूर्ण मानवीय संवेदनशीलता प्रदर्शन गर्नसमेत आग्रह गरेको छ ।

विपद्का समयमा भय तथा विचलित बनाउने वा समाजलाई नै विभाजित पार्ने सामग्री प्रकाशन, प्रसारण, अपलोड, सेयर वा पोस्ट नगरी कठिन परिस्थितिमा सही, तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषणमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन मन्त्रालयले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गरेको छ ।

मन्त्रालयले पछिल्लो समय केही सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मानवीय संवेदनशीलता र सामाजिक मर्यादा ख्याल नगरी तस्बिर तथा भिडियो प्रकाशन तथा प्रसारण भइरहेको भन्दै त्यसले बाढीमा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप पीडा पुग्न सक्ने जनाएको छ ।

विपद्का बेला सही र विश्वसनीय सूचना प्रवाह गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मन्त्रालयले विशेष आग्रह गरेको छ ।