
ललितपुर । रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ।
नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले विपद् प्रभावितको उद्धार तथा राहतका लागि जनप्रतिनिधिको एक महिनाको भत्ता र नगरपालिकामा कार्यरत कर्मचारीको सात दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो। अपुग रकम नगरपालिकाको आन्तरिक कोषबाट व्यहोर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख श्रेष्ठले छिमेकी जिल्लामा ठूलो प्राकृतिक विपत्ति आइपरेका बेला प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले रसुवागढी तथा आसपासका क्षेत्रमा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा पीडित परिवारलाई राहत उपलब्ध गराउन जनप्रतिनिधि र कर्मचारी एकजुट भएको बताए ।
नगरपालिकाले आफ्नो एम्बुलेन्स र नगर प्रहरीसहितको टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरेको छ। टोलीले बाढीबाट घाइते भएका व्यक्तिको उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउने काम गरिरहेको उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। बाढीका कारण ३५ वटा पक्की पुल, ४५ वटा झोलुंगे पुल र करिब ४० किलोमिटर पक्की सडकमा क्षति पुगेको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal