काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।
तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताइन् ।
यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ-आफ्ना धारणा व्यक्त गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।