सिन्धुपाल्चोक । जुगल गाउँपालिका-४ मा रहेको ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण हुँदा स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ।
च्याल्तचाम खोलामाथि स्थानीय सरकारले २०७३ सालमा निर्माण गरेको उक्त पुलबाट स्थानीयवासी लामो समयदेखि आवतजावत गर्दै आएका छन्। पछिल्लो समय जुगल हिमाल आधार शिविरसम्म जाने पर्यटकले समेत यही पुल प्रयोग गर्दै आएका छन्।
पुल भाँचिएर जीर्ण अवस्थामा पुगेपछि आवतजावत गर्न जोखिम भएको स्थानीयको गुनासो छ। स्थानीय देव लामाले पुल बिग्रिएको एक वर्ष बितिसक्दा पनि मर्मतमा स्थानीय सरकारले ध्यान नदिएको बताए ।
‘हामी यही पुल भएर आउजाउ गर्दै आएका थियौँ, अब पुलबाट हिँड्न डर लाग्छ,’ उनले भने ।
जुगल गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई जुगल हिमालसम्म पुर्याउने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ घोषणा गरेको छ। तर, पर्यटक आवतजावत गर्ने पुल नै जीर्ण भएपछि भ्रमण वर्षको औचित्यमाथि प्रश्न उठेको स्थानीय ल्हालुङ लामाले बताए ।
जुगल हिमाल भ्रमणका लागि पर्यटक आउने मौसम सुरु भइसकेकाले तत्काल पुलको मर्मत वा नयाँ पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ। ‘यस्तो अवस्थामा पर्यटक आउन सक्ने देखिँदैन,’ उनले भने, ‘पर्यटकलाई आकर्षित गर्ने हो भने सुरक्षित बाटो र पुल पनि आवश्यक छ।’
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जीर्ण पुल हटाएर त्यस स्थानमा बेलिब्रिज निर्माण गरिने जानकारी दिए । उनका अनुसार पुल जीर्ण भएको जानकारी पाएपछि गाउँपालिकाले प्राविधिक टोली पठाएर अध्ययन गराएको थियो।
‘प्राविधिकले पुल मर्मत हुने सम्भावना नरहेको जानकारी दिनुभएको छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘अब त्यहाँको जीर्ण पुल हटाएर बेलिब्रिज निर्माण गर्छौं।’
बेलिब्रिज निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको र असोजभित्रै ठेक्का प्रक्रियामा जाने अध्यक्ष स्याङ्बोले बताए ।