काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र महासंघमा आबद्ध विभिन्न जिल्ला संघहरूले विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेका छन् ।
महासंघ तथा आबद्ध व्यवसायीहरूबाट संकलित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
महासंघका अनुसार उक्त रकम पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूको सामूहिक सहयोगबाट संकलन गरिएको हो । व्यवसायीहरू आफै सहज व्यावसायिक अवस्थामा नरहे पनि विपद्को पीडामा रहेका परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग जुटाइएको महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले जनाएका छन् ।
महासंघले भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिले आफूहरूलाई अत्यन्त दुःखी बनाएको पनि जनाएको छ। विपद्को कठिन घडीमा प्रभावितको दुःखलाई आफ्नै दुःख सम्झेर व्यवसायीहरूले सहयोगको हात अगाडि बढाउनु प्रशंसनीय र अनुकरणीय कार्य भएको महासंघको भनाइ छ।
सहयोग संकलन तथा हस्तान्तरणका लागि योगदान गर्ने सम्पूर्ण व्यवसायीहरूप्रति महासंघले आभार व्यक्त गरेको छ।
महासंघले आगामी दिनमा पनि पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विपद् तथा संकटका समयमा व्यवसायीहरू एकजुट भएर मानवीय सेवामा योगदान पुर्याउँदै जाने महासंघको भनाइ छ।