• Menu

पत्रकार मैनाली र पन्तलाई भोलि उपस्थित हुन उर्दी जारी गर्दै नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार २०:२५

पत्रकार मैनाली र पन्तलाई भोलि उपस्थित हुन उर्दी जारी गर्दै नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

काठमाडौं । पत्रकारहरु खगेन्द्र पन्त र नवराज मैनालीलाई नियन्त्रणमा लिन गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ । साँझ सवा ५ बजे नयाँ पत्रिका कार्यालय पुगेको प्रहरी राति ८ बजे रित्तो हात बाहिरिएको हो ।

नयाँ पत्रिकाका सम्पादक पन्त र मैनालीलाई शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै प्रहरी निस्किएको छ । पत्रिकाका सम्पादक पन्तले ‘पक्राउको कारणबारे लिखित जानकारी गराउन’ आग्रह गरेपछि भोलि बिहान उपस्थित हुन मौखिक उर्दी गर्दै प्रहरी निस्किएको छ ।

प्रहरीले शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धिरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको छ ।

पत्रकारहरुलाई समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले विज्ञप्ति जारी गरी पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको हो ।