• Menu

ठमेलमा ‘दोस्रो भेट्रान पर्यटन कप फुटबल’ हुने, विजेताले दुई लाख नगद प्राप्त गर्ने

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १७:१४

ठमेलमा ‘दोस्रो भेट्रान पर्यटन कप फुटबल’ हुने, विजेताले दुई लाख नगद प्राप्त गर्ने

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तथा ठमेल एघारको कार्यक्रम व्यवस्थापनमा ‘एक्सट्रिम इनर्जी ड्रिंक दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ।

प्रतियोगितासम्बन्धी औपचारिक कार्यक्रम सोमबार रोयल सुइट्स बुटिक होटलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रतियोगिताको तयारी, उद्देश्य, पुरस्कारलगायतका विषयमा जानकारी दिइएको थियो ।

४५ वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुने प्रतियोगिता सेप्टेम्बर २३ देखि २७ सम्म लैनचौर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २३ मा गरिने आयोजकले जनाएको छ ।

खेलकुदमार्फत सक्रिय जीवनशैली, आपसी मित्रता तथा सामुदायिक सहभागिता प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले खेलकुदसँगै पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ र उपविजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष दीपक गुरुङ, पर्यटन बोर्डका अध्यक्ष राजु डंगोल, अतिथि गीता गुरुङ, परिषद्का कोषाध्यक्ष कञ्चु भुटिया, लैनचौर युवा क्लबका अध्यक्ष रा. रजक तथा छत्रपाटी निःशुल्क चिकित्सालयका डा. मनोजमान श्रेष्ठलगायतको सहभागिता थियो। कार्यक्रम सञ्चालन ममता खड्काले गरेका थिए ।

प्रतियोगिताको प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ भने समग्र कार्यक्रम व्यवस्थापन ठमेल एघारले गर्नेछ ।

आयोजकले प्रतियोगितामा सहभागी भई खेलाडीको हौसला बढाउन खेलप्रेमी, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार