काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भएको डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहल थालेको छ।
बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, केही सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा क्षति पुगेको विवरण प्राप्त भइरहेको नाडाले जनाएको छ।
प्रभावित व्यवसायी तथा सदस्यलाई राहत तथा आवश्यक सहजीकरणका लागि नाडाले सरकारी निकाय, बिमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय लगायत सम्बन्धित सरोकारवालासँग समन्वय सुरु गरेको जनाएको छ।
नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई बाढी तथा डुबानबाट भएको क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। विवरणमा क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बिमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण समावेश गर्न भनिएको छ।
प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने नाडाले जनाएको छ। विशेषगरी क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गरी बिमा दाबी प्रक्रिया सहज बनाउन बिमा कम्पनीसँग तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाको योजना छ।
त्यसैगरी, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन लगायत सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग पहल गर्ने नाडाले जनाएको छ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ। यस कार्यलाई व्यवस्थित बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत नाडाले गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कठिन परिस्थितिमा प्रभावित सदस्य व्यवसायीहरूसँग संस्था रहेको बताउँदै क्षतिको यथार्थ विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।