काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्धन तथा प्रवर्धनमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले साहित्यिक पत्रकारिता भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताए ।
उनले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहयोग पुग्ने उल्लेख गरे । दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुने पत्रकारितालाई पनि राज्यले प्राथमिकतामा राख्ने उनले बताए ।
भेटमा नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउनुपर्ने सुझाव दिएको छ । संघले साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डमा समेट्नुपर्ने तथा पत्रपत्रिका ढुवानीमा देखिएका समस्या समाधानका लागि हुलाक सेवामार्फत आवश्यक सहजीकरण गर्नुपर्ने माग गरेको छ ।
साहित्यिक पत्रकारिताको विकास र प्रवर्धनका लागि राज्य र सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।