काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् । दोहामा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईसहित दूतावासका अधिकारीले उनलाई स्वागत गर्नेछन् ।
प्रधानमन्त्री शाह दोहाबाट बुधबार स्थानीय समयअनुसार बिहान १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्ने छन् । शाहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतले स्वागत गर्नेछन् ।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहले नेपाली नियोगमा भ्रमण तथा महासभासम्बन्धी ब्रिफिङ लिनेछन् । असोज ८ गते उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने छन् ।