काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले टोयोटा मोटर एसिया र टोयोटा सुसो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त सहयोग रकम उपलब्ध गराएको हो ।
एसियास्थित टोयोटा ग्रुपले कठिन समयमा नेपालको साथमा रहेको र अझ बलियो तथा लचिलो भविष्य निर्माणका लागि प्रतिबद्ध रहेको जनाएको छ। साथै, कम्पनीले उद्धार तथा पुनरुत्थानको कार्यमा अहोरात्र खटिने नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संस्था, स्वयंसेवक र स्थानीय समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
‘स्ट्यान्डिङ टुगेदर’, ‘फर आवर नेपाल’ मुख्य सन्देशसहित यो अभियान अघि बढाइएको कम्पनीले स्पष्ट पारेको छ । यो आर्थिक सहयोगमार्फत विपद् प्रभावित समुदायलाई तत्काल आवश्यक राहत सामग्री वितरण गर्न तथा आगामी दिनमा थप सुरक्षित र उत्थानशील समुदाय निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।