काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ।
नेपाल चेम्बर अफ कमर्सको ७५औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह-आयोजनामा चारदिने प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गरे।
उद्घाटन समारोहमा सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रमा आबद्ध व्यवसायीहरूको मुख्य समस्याका रूपमा रहेको हदबन्दीलगायतका विषय समाधान गर्न नेपाल सरकार प्रयासरत रहेको बताए । प्रतिनिधिसभाको सभामुखको हैसियतले आफूले पनि यस क्षेत्रका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले ठूला व्यवसायीका साथै साना व्यवसायी तथा दुर्गम क्षेत्रका नागरिकका समस्या समाधानमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमा लगानी गर्ने वातावरण निर्माण गर्न तथा युवा पुस्तालाई देशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सबै पक्षले निरन्तर मेहनत गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भूकम्प र कोभिड-१९ जस्ता कठिन परिस्थितिमा समेत व्यवसायीहरूले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई चलायमान नबनाई अन्य व्यवसायलाई गति दिन कठिन हुने उनको भनाइ थियो।
अध्यक्ष अग्रवालले निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने प्रमुख संवाहक भएकाले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिइए बाह्रै महिना उत्कृष्ट रूपमा सञ्चालन गरेर देखाउन सकिने धारणा राखे । साथै, विदेशी नागरिक, विशेषगरी गैरआवासीय नेपालीलाई अपार्टमेन्ट बिक्री गर्न सक्ने कानुनी बाटो खोल्न सरकारसँग माग गरे ।
समारोहका सभापति एवं नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी क्षेत्रलाई विश्वास गरी ऐन तथा नियममा आवश्यक सुधार गरिदिए धेरै काम गरेर देखाउन सकिने बताए ।
उनले हालको हदबन्दीसम्बन्धी समस्या समाधान नभए घरजग्गा व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै कित्ताकाटको दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिए ।
हालैको विनाशकारी बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा भत्किएका संरचनाको पुनर्निर्माणका लागि घरजग्गा व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष कुँवरले बताए ।
उनले कृष्णभीरमा वर्षायाममा पटक-पटक पहिरो जाने समस्या समाधान गर्न थानकोटदेखि शक्तिखोरसम्म सुरुङमार्ग निर्माण गर्न सकिने धारणा पनि राखे । उनका अनुसार यसले लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गको महत्वपूर्ण वैकल्पिक मार्गको काम गर्न सक्छ।
कार्यक्रमका आयोजक महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाला घरजग्गा कम्पनीलाई जग्गाको हदबन्दी छुट दिनुपर्ने, कर्जा लगानीमा घरजग्गा क्षेत्रको हिस्सा ८० प्रतिशतसम्म पुर्याउनुपर्ने तथा तीन करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने माग राखे ।
उनले घरजग्गा क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत मागसमेत अघि सारे ।
प्रदर्शनी आयोजना तथा तयारी समितिका संयोजक रोशन भट्टराईले प्रदर्शनीबारे जानकारी दिँदै यहाँ एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहेको बताए । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक-निजी साझेदारीमार्फत एकीकृत आवास विकासलगायत विषयमा उच्चस्तरीय प्राविधिक गोष्ठी तथा छलफल आयोजना गरिने उनले जानकारी दिए।
प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ।