काठमाडौं । विश्वप्रसिद्ध म्याकडोनाल्ड्स ब्रान्डको उत्पादन कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड, सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराएको छ।
कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको हो । हालैको बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउन चेम्बरमार्फत सहयोग गरिएको कम्पनीले जनाएको छ ।
चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सले आर्कस ग्रुपसँग समन्वय गरी नेपाल चेम्बरमार्फत राहत सहयोग गरेको हो।
श्रेष्ठका अनुसार प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा वितरण गर्ने व्यवस्था गरिएको छ ।
‘फुड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशूली क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, सेनिटरी प्याडलगायतका राहत सामग्री वितरण गरिएको छ,’ श्रेष्ठले बताए।
प्राप्त सहयोगबाट पहिलो चरणमा करिब तीन लाख रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रबाट प्राप्त मागका आधारमा थप २७ लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइने श्रेष्ठले उल्लेख गरे ।