• Menu

प्रदेश सरकारको पहलमा म्याग्दीका ५ रणनीतिक सडक स्तरोन्नति सम्पन्न, यात्रा अवधि छोटियो

नेपाल प्रफिट

२०८३ भदौ ३०, मंगलबार १७:५६

प्रदेश सरकारको पहलमा म्याग्दीका ५ रणनीतिक सडक स्तरोन्नति सम्पन्न, यात्रा अवधि छोटियो

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । संघीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र २०८१/८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् ।

विभिन्न निर्माण कम्पनीसँग ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार बेनी-तोरीपानी हुँदै पाखापानी, दरवाङ-मुना-ढोरपाटन सडक, पखेर-बरङ्जा सडक, बगरफाँट-दूधेखोला-भकिम्ली र गलेश्वर-जगन्नाथ सडक योजना निर्धारित समयमा सम्पन्न भएका हुन् ।

कार्यालयका अनुसार आव २०८०/८१ मा सम्झौता भएका दरवाङ-बिम-दिच्याम, अदिभारा-डाडागाँउ-सोले-लामेला तमान, चित्रे-घोडेपानी सडक, शिवरात्रिखोला र दरखोला मोटरेबल पुल निर्माणाधीन छन् ।

स्तरोन्नति भएपछि बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै ढुवानी, आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । कच्ची साँघुरो, ग्रेड र मोड नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कम भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको कार्यालयका सवइन्जिनियर घनश्याम रोकाले बताए ।

बेनी-तोरीपानी हुँदै पाखापानी सडक

मंगलादेवी सुवास कन्ट्रक्सनले ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको बेनी-तोरीपानी हुँदै पाखापानी सडक आयोजनामार्फत बेनी नगरपालिका-९ भुतदैला-नेप्टेचौर-तोरीपानी खण्डको चार किलोमिटर दूरीमा स्तरोन्नति भएको छ । सो आयोजनामार्फत एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र, ५५० मिटरमा ढलान र दुई किलोमिटर ग्राभेल भएको छ ।

मार्ग खुलेको करिब २५ वर्षपछि स्तरोन्नति भएको यस सडक आयोजनाबाट बेनी नगरपालिका-९, १०, रघुगङ्गा गाउँपालिका-५, ६ र ८ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । म्याग्दीको प्राथमिकताप्राप्त बेनी-तोरीपानी हुँदै पाखापानी सडक चालु आव २०८३/८४ मा भने बजेटविहीन भएको रघुगङ्गा-६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।

दरवाङ-मुना-ढोरपाटन सडक

रामसागर विके एस केबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको दरवाङ- मुना-ढोरपाटन सडक योजनामार्फत धवलागिरि गाउँपालिका-७ धारापानी-ताकम-शिवाङ-झिनडाडा खण्ड स्तरोन्नति भएको छ ।

सो योजनाअन्तर्गत ताकम र शिवाङ खण्डमा ९०० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । गौथली भिरलगायतका स्थानमा एक हजार ७०० मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ ।

यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेलमात्र भएको तीन किलोमिटरभन्दा बढी दूरीको सडकलाई पनि कालोपत्र गर्न पहल गरिएको धवलागिरि गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।

‘मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो,’ उनले भने, ‘बजेटको कमीका कारणले कालोपत्र हुन नसकेको ठाउँका सडकलाई कालोपत्र गराउन र बर्खायाममा बिग्रिएको ठाउँमा मर्मतका लागि प्रदेश सरकारसँग पहल भएको छ ।’

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत दरवाङ-धारापानी र मच्छिम-मुना खण्डमा स्तरोन्नतिका लागि सञ्चालित अर्को आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

पखेर-बरङ्जा सडक

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर-बरङ्जा ३ र ४ हुँदै महेश-धापुङ-ताराखोला सडक योजनामार्फत मङ्गला गाउँपालिका-३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति भएको छ ।

पाँच करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एनके-युनाइटेड जेभीले तीन किलोमिटर दूरीमा ग्राभेल तथा घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले म्याग्दीको सदरमुकाम बेनी आवतजावतका लागि यो सडक प्रयोग गर्छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको स्थानीयवासी मिलन रोकाले बताए ।

हाडेभिर-बगरफाँट-दुधेखोला-हल्लेगौडा सडक

बेनी नगरपालिका-२ को बगरफाँट-कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला हुँदै हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । माछापुच्छ्रे हिमालयन जेभीले पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको योजनामार्फत बगरफाँट-कोप्रे-दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

२०६४ सालमा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका-२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान भएको छ ।

हाँडेभिरदेखि बगरफाँट-दूधेखोला-हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना-थामडाँडा-अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक

बिबीपीएलबिएस डिएस धवलागिरिले दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजनामार्फत बेनी नगरपालिका-९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाइ घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको छ ।

यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नतिको काम थालिएको हो ।

गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।