• Menu

खल्ती र इनड्राइभबीच डिजिटल भुक्तानीसम्बन्धी सहकार्य, चालक र यात्रुले दैनिक पुरस्कार जित्न सक्ने

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार १७:३४

खल्ती र इनड्राइभबीच डिजिटल भुक्तानीसम्बन्धी सहकार्य, चालक र यात्रुले दैनिक पुरस्कार जित्न सक्ने

काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड-हेलिङ सेवा इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने र प्राप्त गर्ने व्यवस्था विस्तारका लागि सहकार्य भएको छ। सहकार्यसँगै चालक र यात्रु दुवैलाई लक्षित गरी तीनमहिने अभियान सुरु गरिएको छ।

अभियानअन्तर्गत इनड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत तिर्न सक्नेछन् भने चालकले पनि भाडा खल्तीमै प्राप्त गर्न सक्नेछन्। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत इनड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत प्राप्त गरेमा सोही दिनको भाग्यशाली छनोटमा सहभागी हुन सक्नेछन्। दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारका रूपमा प्राप्त गर्नेछन्।

त्यस्तै, इनड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत भुक्तानी गरेपछि सोही दिनको भाग्यशाली छनोटमा स्वतः सहभागी हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन। योजनाअन्तर्गत दैनिक १० जना यात्रुले २०० रुपैयाँ बराबरको खल्ती मौज्दात प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

खल्ती र इनड्राइभबीचको सहकार्यले दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा तिर्ने तथा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, यसले चालक तथा यात्रुलाई डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यममा विस्तार गर्ने उद्देश्यले इनड्राइभसँग सहकार्य गरिएको बताए ।

चालक र यात्रु दुवैका लागि सहज डिजिटल भुक्तानीको वातावरण निर्माण गर्दै डिजिटल भुक्तानीलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य महत्वपूर्ण हुने उनको भनाइ छ।

कम्पनीका अनुसार अभियान २०८३ भदौ २५ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।