• Menu

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १७:४७

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार महासंघको सचिवालयमा डा. तिवारीलाई २०८३ असोज १ गतेदेखि लागू हुने गरी नियुक्तिपत्र प्रदान गरेका हुन् ।

नियुक्तिपछि अध्यक्ष श्रेष्ठले डा. तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता तथा निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि महत्वपूर्ण हुने बताए। उनले नेपालको आर्थिक संरचनाबारे डा. तिवारीको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाबीचको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

महासंघका अनुसार नीतिगत पैरवीलाई प्रभावकारी बनाउने, उच्च प्रभावकारी सुधारका कार्यसूची कार्यान्वयन गर्ने तथा नेपाली उद्यमलाई गतिशील र विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न डा. तिवारीको नेतृत्व महत्वपूर्ण हुनेछ ।

यो नियुक्तिसँगै डा. तिवारी महासंघमा पुनः फर्किएका हुन्। यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व गरेका थिए ।

वृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेका डा. तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थासँग आबद्ध भएर काम गरेका छन्। पछिल्लो समय उनले यूएसएआईडीको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशक तथा कार्यकारी एवं सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।

नेपालको वित्तीय तथा व्यावसायिक क्षेत्रमा समेत डा. तिवारीको संस्थागत संलग्नता रहेको छ। उनी यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारका रूपमा कार्यरत थिए।

संस्थागत जिम्मेवारीबाहेक उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्षसमेत हुन्। साथै, नवेंस्थित फिलिप डा. जान-यू सान्डल इन्स्टिच्युटका वरिष्ठ रिसर्च फेलो तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सार्वजनिक नीति, सुशासन र भ्रष्टाचारविरोधी अध्ययन विभागका प्राध्यापकका रूपमा समेत आबद्ध छन्।

आफ्नो करियरको प्रारम्भिक चरणमा डा. तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडे लगायतका राष्ट्रिय दैनिकमा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए।

नेपालमा संरचनागत सार्वजनिक-निजी संवाद (पीपीडी) को विकासमा पनि डा. तिवारीको भूमिका रहेको महासंघले जनाएको छ। उनले आईएफसीअन्तर्गत उच्चस्तरीय ‘नेपाल बिजनेस फोरम’ को सचिवालय व्यवस्थापनमा लामो समय काम गरेका थिए ।

त्यस्तै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र औद्योगिक व्यवसाय ऐनलगायत महत्वपूर्ण आर्थिक तथा व्यावसायिक कानुनको तर्जुमामा उनले सक्रिय प्राविधिक भूमिका निर्वाह गरेको महासंघले जनाएको छ ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. तिवारीले व्यापार कूटनीति तथा औद्योगिक विकाससम्बन्धी विभिन्न अनुसन्धानमूलक पुस्तकसमेत प्रकाशित गरेका छन्। उनका प्रकाशनमध्ये ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात प्रवर्द्धनका सम्भावित क्षेत्रहरू’ (२०२३) समेत रहेको छ ।