काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने गरी लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार बैंकको आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ। यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
यसअनुसार बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
सिटिजन्स बैंकले २०६४ साल वैशाख ७ गतेदेखि बैंकिङ कारोबार सुरु गरेको हो। सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै बैंकले सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।
बैंकका अनुसार पछिल्लो २० वर्षमा यसको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्ने बैंकले जनाएको छ।
बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित बैंकिङ सेवामा पनि विस्तार गरेको जनाएको छ । बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।