काठमाडौं । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।
उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए ।
यसअघि ३० दफा रहेको उक्त विधेयकका नौ दफामा संशोधन र एउटा दफा परिमार्जन गरी समितिले सर्वसहमतिले पारित गरेको थियो । उक्त विधेयकमाथि १३ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।