काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी जग्गा व्यवस्थापनका लागि आवश्यक कानुनको तर्जुमा भइरहेको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै मन्त्री रावलले धर्म, सभ्यता, सम्पदा, परम्परा, संस्कृति, अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण आदिलाई ध्यान दिएर कानुनको मस्यौदा भइरहेको जानकारी दिइन् । उनले विज्ञ र सरोकार भएका व्यक्ति सरकारले घनिभूत अध्ययन र छलफल गरिरहेकाले यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास दिलाइन् ।
बैठकमा सांसद युवराज दुलालले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले गुठीमा रहेका जग्गाको हक अधिकारबारे सरकार गम्भीर रहेको स्पष्ट गर्दै प्रचलित कानुनबमोजिम मोहियानीमा कमाइ आएको जग्गासमेत खरिद बिक्री गर्न सकिने तथा हक हस्तान्तरण हुने बताइन् ।
उनले कानुन बनाएर जग्गा रैकर गर्न सकिने र गुठीमा बनेका घरको लिलामी बैंकले नलिने भएकाले नागरिकलाई पर्ने समस्यालाई सम्बोधन गर्न कानुन तर्जुमा अवगत गराइन् । मन्त्री रावलले जग्गा खण्डीकृत नगर्न सर्वोच्च अदालतबाट भएको आदेश तथा विगतमा सरका र सम्बन्धित पक्षसँग भएको सहमतिको पालना गर्ने गरी कानुनमा व्यवस्था गरिने पनि बताइन् ।
विगतमा राष्ट्रियसभामा गुठी विधेयक पेस भए पनि विवादका कारण फिर्ता भएको थियो ।