काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि तीन करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीन करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँचवटा कृत्रिम बौद्धिकता प्रविधियुक्त निगरानी ड्रोन, तीनवटा पाँच किलोभोल्ट एम्पियर क्षमताका पोर्टेबल जेनेरेटर र एक सयवटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ ।
हालैको विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। बैंकले आफ्नो सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।