• Menu

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १३:२८

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ। बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै धेरै नागरिकको ज्यान गएको, केही बेपत्ता भएको र सयौँ परिवार विस्थापित भएको बैंकले जनाएको छ।

बैंकका अनुसार बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुर्‍याएको छ। विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउने उक्त रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।