काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघका पूर्वअध्यक्ष नवराज कुँवर एसियाली सूचना तथा सञ्चार प्रविधि उद्योग संगठनको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्।
इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न सङ्गठनको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७-२०२८ को कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
कुँवरले यसअघि पनि कम्प्युटर एशोसिएसन नेपाल महासंघको प्रतिनिधित्व गर्दै सन् २०२२ देखि उक्त संगठनमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले सन् २०२२-२०२४ र २०२५-२०२६ को कार्यकालमा समेत उपाध्यक्षका रूपमा काम गरेका थिए।
पुनः उपाध्यक्षमा निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताएका छन्। उनले एसियाली मुलुकमा बलियो सूचना प्रविधि प्रणाली निर्माण गर्दै नेपाललाई विश्वको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित गर्न सकिने बताए।
उनले एसियाली मुलुकबीच प्रविधिको क्षेत्रमा सहकार्य बढाउन सके नवप्रवर्तन, विकास र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। साथै, यसबाट एसियाका विकासशील तथा अविकसित मुलुकबीचको दूरी घटाउन सहयोग पुग्ने उनको भनाइ छ।
नयाँ कार्यसमितिमा मलेसियाका अध्यक्ष स्टान सिंह-जितको पुनः नेतृत्वमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिङ्गापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाका प्रतिनिधि निर्वाचित भएका छन्।
कम्प्युटर एशोसिएसन नेपाल महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कुँवरको नेतृत्वमा विश्वसामु नेपाली सूचना तथा सञ्चार प्रविधि क्षेत्र र संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेकाले सर्वसम्मत निर्वाचित हुने वातावरण बनेको बताए।
उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान पुग्ने र नेपालले त्यसबाट लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै बधाई दिए। भुर्तेलले कुँवरको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच विस्तार तथा सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल निर्माण गर्ने महासंघको प्रयासमा सहयोग पुग्ने बताए ।