• Menu

डाटा सेन्टरको प्राविधिक समस्या र नेप्से कारोबार स्थगनबारे छानबिन गर्न ५ सदस्यीय टोली गठन

नेपाल प्रफिट

२०८३ असोज ६, मंगलबार १०:५३

डाटा सेन्टरको प्राविधिक समस्या र नेप्से कारोबार स्थगनबारे छानबिन गर्न ५ सदस्यीय टोली गठन

काठमाडौं । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा २०८३ असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । उक्त समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले उक्त घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

घटनाको प्राविधिक पक्ष तथा कारोबार स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ । टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसको प्रभाव तथा कारोबार प्रणालीमा पर्न सक्ने जोखिमलगायत विषयमा अध्ययन गर्नेछ ।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएको अवस्थामा नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही परिस्थितिलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० बमोजिम कारोबार स्थगित गरेको जनाएको छ ।

बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ ।

बोर्डका प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीको विश्वसनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्राविधिक जोखिमको पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम अघि बढाइने जानकारी दिए ।