काठमाडौं । सेयर बजार परिसूचक नेप्से ११.९३ अंकले बढेको छ। बजार बढेसँगै नेप्से परिसूचक २ हजार ६२४ अंकमा पुगेको हो ।
बिहीबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कुल ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।
आज अधिकांश उपसमूहमा हरियाली देखिएको छ। जीवन बिमा समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। यस्तै, होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत, जलविद्युत ०.६३ प्रतिशत, बैंकिङ ०.५८ प्रतिशत, वित्त ०.५५ प्रतिशत र विकास बैंक ०.३८ प्रतिशतले बढेका छन्।
त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशत, लघुवित्त ०.२३ प्रतिशत, व्यापार ०.२२ प्रतिशत र निर्जीवन बिमा समूह ०.०५ प्रतिशतले बढेको छ। लगानी समूह भने ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन्।
बिहीबार १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
मूल्य बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंक ६.४४ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ५.५१ प्रतिशत र पिपुल्स हाइड्रोपावर ४.१९ प्रतिशतले बढेका छन् ।
यसैगरी हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य २.९७ प्रतिशत, सीवाईसी लघुवित्त २.८० प्रतिशत र सिर्जनशील लघुवित्त २.७८ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा बिहीबार सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन् ।