• Menu

पुँजीगत लाभकर आधा बनाउने घोषणाको प्रभाव एक दिन पनि टिकेन, २१ अंकले घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १६:०४

पुँजीगत लाभकर आधा बनाउने घोषणाको प्रभाव एक दिन पनि टिकेन, २१ अंकले घट्यो सेयर बजार

काठमाडौं । सरकारको पूँजी बजार सुधार कार्ययोजना सार्वजनिक भएपछि मंगलबार ४८ अंकले उकालो लागेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेको हो।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २ हजार ६ सय १२ अंकमा झरेको छ। सोमबार साँझ अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हाल कायम दरको आधा बनाउनेसहित पूँजी बजार सुधारका विभिन्न योजना सार्वजनिक गरेका थिए। त्यसको सकारात्मक प्रभाव मंगलबारको कारोबारमा देखिए पनि बुधबार बजार पुनः दबाबमा परेको हो ।

बुधबार कारोबार रकममा समेत कमी आएको छ। मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कुल कारोबार ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

बुधबार सबै समूहगत सूचक राताम्य रहे । बैंकिङ समूह ०.६३ प्रतिशत, विकास बैंक ०.७३ प्रतिशत, वित्त ०.७६ प्रतिशत, होटल तथा पर्यटन ०.८५ प्रतिशत र जलविद्युत समूह १.०४ प्रतिशतले घटे।

त्यसैगरी लगानी समूह ०.८१, जीवन बिमा १.०१, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.८२, निर्जीवन बिमा ०.९१, अन्य समूह ०.८७ र व्यापार समूह ०.७० प्रतिशतले ओरालो लागेका छन् ।

आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बढ्ने कम्पनीतर्फ नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.३७ प्रतिशतले उकालो लागेको छ। हिमाल दोलखा हाइड्रोपावर ५.३१, माउन्ट एभरेस्ट पावर ४.३८, कालिका लघुवित्त ४.३४ र बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ३.५९ प्रतिशतले बढेको छ।

यता रिजलाइन इनर्जीको सेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ। नेपाल वेयर हाउजिङ ४.९६, स्वाभिमान लघुवित्त ४.५८ र सिन्धु विकास बैंकको मूल्य ४.४४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, लिबर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहेका छन्।