• Menu

अर्थमन्त्रीको घोषणाले तात्तियो सेयर बजार, ४८ अंकले बढ्दा कारोबार रकम ८ अर्ब नाघ्यो

नेपाल प्रफिट

२०८३ भदौ ३०, मंगलबार १६:४४

अर्थमन्त्रीको घोषणाले तात्तियो सेयर बजार, ४८ अंकले बढ्दा कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिएको छ। बुधबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३ अंकमा पुगेको छ।

बुधबारको वृद्धिसँगै नेप्से परिसूचक भदौ १ गतेयताकै उच्च विन्दुमा पुगेको हो । मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर घटाउनेसहित पूँजी बजार सुधारसम्बन्धी कार्ययोजना सार्वजनिक गरेका थिए। त्यसको प्रभावस्वरूप कारोबार सुरु भएदेखि नै बजारमा खरिदकर्ताको चाप देखिएको थियो।

बुधबार बजार खुलेको पहिलो मिनेटमै नेप्से २६७९ अंकसम्म उक्लिएको थियो। त्यसपछि भने केही दबाबमा आएको बजार दिउँसो १२ः५४ बजे २६११ अंकसम्म झरेको थियो। अन्तिमतिर पुनः खरिद चाप बढेपछि नेप्सेले सुधारको गति समातेको हो।

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार भने ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबारको कारोबार रकम असार ३० गतेयताकै उच्च हो।

बुधबार सबै समूहगत सूचकमा वृद्धि भएको छ। निर्जीवन बिमा समूह सबैभन्दा धेरै २.८२ प्रतिशतले बढ्दा जीवन बिमा २.५९ प्रतिशत र लगानी समूह २.५२ प्रतिशतले उकालो लागेका छन् । वित्त २.२३ प्रतिशत, बैंकिङ १.९० प्रतिशत, जलविद्युत १.८४ प्रतिशत र विकास बैंक १.७६ प्रतिशतले बढेका छन्।

त्यस्तै लघुवित्त १.७५ प्रतिशत, होटल तथा पर्यटन १.४२ प्रतिशत, अन्य समूह २.१२ प्रतिशत, व्यापार ०.९२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशतले बढेका छन्।

बुधबार कारोबारमा आएका २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।

धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक ११.०३ प्रतिशत, मल्टिपर्पस फाइनान्स ९.७३ प्रतिशत, जानकी फाइनान्स ८.०६ प्रतिशत र मिडसोलु हाइड्रोपावर ६.६७ प्रतिशतले बढेका छन्।

यता बोटलर्स नेपाल बालाजुको मूल्य २.९७ प्रतिशतले घटेको छ। रिलायन्स स्पिनिङ मिल्स १.९४ प्रतिशत र सर्वोत्तम पेन्ट्स १.६६ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।

पूँजी बजार सुधारसम्बन्धी सरकारी घोषणापछि लगानीकर्ताको मनोबल बढ्दा बुधबार बजार परिसूचकसँगै कारोबार गतिविधिमा समेत उल्लेख्य सुधार देखिएको हो।