काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यमञ्चमा छलफल भएको छ।
आज बसेको कार्यमञ्चको बैठकमा बाढीपछिको खोज, उद्धार तथा राहतका लागि हालसम्म भएका प्रयासको समीक्षा गर्दै आगामी पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिने विषयमा छलफल गरिएको हो ।
बैठकमा कार्यमञ्चका सदस्य तथा साझेदार संस्थाका प्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा आफ्नो निकायबाट हालसम्म गरिएको सहयोगबारे जानकारी गराएका थिए। साथै, प्रभावित क्षेत्रमा तत्काल राहतपछि आवश्यक पर्ने पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका लागि आ-आफ्नो संस्थाले उपलब्ध गराउन सक्ने सहयोगबारे समेत धारणा राखेका थिए।
कार्यक्रममा कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले साझेदार संस्थाहरूलाई प्राधिकरणको विस्तारित अंगका रूपमा समन्वयात्मक ढंगले काम गर्न आग्रह गरे ।
उनले बाढीबाट प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहतदेखि पुनर्निर्माणसम्मका काममा प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको हालसम्मको अवस्थाबारे प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी गराएका थिए ।
बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय तथा विभागका अधिकारीहरूका साथै सुरक्षा निकायअन्तर्गत विपद् व्यवस्थापन हेर्ने उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाउन सरकारी निकाय, सुरक्षा संयन्त्र तथा साझेदार संस्थाबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषय बैठकको मुख्य प्राथमिकतामा रहेको थियो।