काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गरेकामा उनलाई बधाई दिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपाल-भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले नेपाल-भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरे ।
यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरे । उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गरे ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गरे । उनले आगामी दिनमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे ।