काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।
मधेश प्रदेशका आठ जिल्लामा बैंकका २९ शाखा कार्यालय सञ्चालनमा रहेका छन्। बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ। सोही कार्यक्रमको निरन्तरतास्वरूप मधेश प्रदेशमा पनि सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकको भनाइ छ।
बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
त्यस्तै, बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सी-आर-एन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। साथै, क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा २०० वटा शाखा, १६९ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।