• Menu

भोटेकोशी विपद् प्रभावितको राहतका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले दियो ३१ लाख

नेपाल प्रफिट

२०८३ भदौ २५, बिहीबार १२:५८

भोटेकोशी विपद् प्रभावितको राहतका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले दियो ३१ लाख

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट रकम संकलन गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भदौ २४ गते संकलित रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जनाइएको छ ।

बाढीपहिरोका कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको एमपीआईएले जनाएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले विपद्का कारण दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सहयोगमा सहभागी सबै सदस्य संस्थालाई धन्यवाद दिए ।

एमपीआईएले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।