• Menu

भोटेकोसी बाढीपीडितलाई एनसेलको १ करोड राहत, ३ दिन भ्वाइस, डेटा र एसएमएस निःशुल्क

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १३:३२

भोटेकोसी बाढीपीडितलाई एनसेलको १ करोड राहत, ३ दिन भ्वाइस, डेटा र एसएमएस निःशुल्क

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापना आवश्यक रहेकाले सरकारको आह्वानमा सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ।

बाढीमा ज्यान गुमाएकाप्रति एनसेलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ।

एनसेलले विपद्का बेला प्रभावित समुदायलाई सञ्चार सेवामार्फत समेत सहयोग गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई बुधबारदेखि लागू हुने गरी तीन दिनसम्म भ्वाइस तथा डेटा सेवा र १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्। उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको उनले बताइन्।

एनसेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।