• Menu

टर्बो बुस्टरजेट इन्जिन र ५-स्टार सेफ्टी रेटिङसहित नयाँ सुजुकी ब्रेजा नेपाली बजारमा

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १५:५१

टर्बो बुस्टरजेट इन्जिन र ५-स्टार सेफ्टी रेटिङसहित नयाँ सुजुकी ब्रेजा नेपाली बजारमा

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी ल्याइएको ब्रेजामा पहिलेको तुलनामा शक्तिशाली इन्जिन, सुधारिएको इन्धन दक्षता, नयाँ प्रविधि, आकर्षक डिजाइन र थप सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

नयाँ ब्रेजा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६-स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो । कम्पनीका अनुसार टर्बो बुस्टरजेट इन्जिनले ५ हजार ५ सय आरपीएममा ८१ किलोवाट अधिकतम शक्ति र २ हजारदेखि ३ हजार ५ सय आरपीएममा १७० न्युटन-मिटर टर्क उत्पादन गर्छ । यसले सहरी सडकदेखि राजमार्गसम्म सहज र प्रभावकारी प्रदर्शन दिने कम्पनीको दाबी छ ।

नयाँ ब्रेजामा विभिन्न पावरट्रेन विकल्प उपलब्ध छन् । स्मार्ट हाइब्रिड प्रविधिसहितको के१५सी ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनलाई नयाँ ६-स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसले सहज ड्राइभिङसँगै आवाज तथा कम्पनलाई कम गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, स्टेयरिङमै जडित प्याडल सिफ्टरसहितको ६-स्पिड स्वचालित ट्रान्समिसनको विकल्प पनि उपलब्ध छ ।

ब्रेजाको बाहिरी डिजाइनमा समेत व्यापक परिवर्तन गरिएको छ । नयाँ स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, स्किड प्लेट तथा परिमार्जित ड्युअल-टोन साइड क्ल्याडिङले गाडीलाई थप आकर्षक र प्रिमियम स्वरूप दिएको कम्पनीको भनाइ छ । तिखो ज्यामितीय डिजाइनका नयाँ प्रिसिजन-कट अलोय ह्विलले यसको स्वरूपलाई थप आकर्षक बनाएको छ ।

गाडीको भित्री भागमा गाढा खैरो र कालो रङको ड्युअल-टोन संयोजन गरिएको छ । मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र नयाँ प्लस लेदरेट सिट राखिएको छ । भेन्टिलेटेड अगाडिका सिट, हावाको गुणस्तर देखाउने एक्यूआई डिस्प्लेसहितको पीएम२.५ फिल्टर तथा एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा पनि उपलब्ध छन् ।

नयाँ ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन् । आर्कामिसबाट ट्युन गरिएको प्रिमियम स्पिकर तथा ६४ रङमा परिवर्तन गर्न मिल्ने एम्बियन्ट लाइटिङ प्रणाली पनि गाडीमा राखिएको छ ।

सुरक्षातर्फ पनि नयाँ ब्रेजामा विभिन्न सुविधा थप गरिएको छ । अल्ट्रा हाई-टेन्साइल र हाई-टेन्साइल स्टिलको प्रयोग गरी बलियो बडी संरचना तयार गरिएको कम्पनीले जनाएको छ । गाडीमा लेन चेन्ज अलर्टसहितको ब्लाइन्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङजस्ता सुरक्षा सुविधा छन् ।

त्यस्तै, तीनवटा नयाँ भ्युसहितको परिष्कृत ३६० डिग्री क्यामेरा तथा अगाडि र पछाडिका पार्किङ सेन्सर पनि उपलब्ध छन् । कम्पनीका अनुसार नयाँ सुजुकी ब्रेजाले वयस्क तथा बालबालिकाको सुरक्षातर्फ भारत एनसीएपीबाट ५-स्टार सुरक्षा मूल्यांकन प्राप्त गरेको छ । गाडीमा मानक सुरक्षा सुविधाको पूर्ण प्याकेज समावेश गरिएको कम्पनीको दाबी छ ।

नयाँ ब्रेजामा दुई नयाँ रङ भाइभेसियस अरेन्ज र लस्ट्रस बेज थपिएका छन् । यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ । ड्युअल-टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ ब्रेजा यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । सुजुकी प्याभिलियनको स्टल ए-२ मा गाडी अवलोकन गर्न सकिनेछ । त्यहाँ ग्राहकले नयाँ ब्रेजा प्रत्यक्ष हेर्नुका साथै टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका अन्य मोडलका सुविधा तथा विशेषताबारे जानकारी लिन सक्नेछन् ।

नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुममार्फत बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङका लागि नजिकको सुजुकी सोरुममा सम्पर्क गर्न सकिनेछ ।