• Menu

इसेवाले पायो पीसीआई डीएसएस भर्सन ४.०.१ प्रमाणीकरण, कार्ड भुक्तानीको सुरक्षा थप सुदृढ हुने

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १२:२७

इसेवाले पायो पीसीआई डीएसएस भर्सन ४.०.१ प्रमाणीकरण, कार्ड भुक्तानीको सुरक्षा थप सुदृढ हुने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआई डीएसएस) भर्सन ४.०.१ को मान्यता प्राप्त गरेको छ। कार्डसम्बन्धी कारोबारमा विश्वस्तरीय सुरक्षा मापदण्ड पूरा गरेपछि इसेवाले उक्त प्रमाणीकरण प्राप्त गरेको हो।

यस प्रमाणीकरणले इसेवामार्फत हुने कार्डसम्बन्धी कारोबार सुरक्षित रहेको र भुक्तानी गर्ने ग्राहकको तथ्यांक सुरक्षाका लागि कम्पनी प्रतिबद्ध रहेको थप प्रमाणित गरेको छ।

पीसीआई डीएसएस भुक्तानी कार्डको तथ्यांक सुरक्षाका लागि स्थापित विश्वव्यापी सुरक्षा मापदण्ड हो। यसको विकास तथा सञ्चालन पीसीआई सुरक्षा मापदण्ड परिषद्ले गर्दै आएको छ। यसअन्तर्गत सुरक्षित सञ्जाल तथा प्रणाली निर्माण, तथ्यांक सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीतिलगायतका मापदण्ड समेटिएका छन्।

इसेवाले भुक्तानी तथ्यांक सुरक्षासम्बन्धी यी मापदण्ड पूरा गर्दै पीसीआई डीएसएस प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।

इसेवाका प्रमुख प्रविधि अधिकृत विभीन खनालले पीसीआई डीएसएस प्रमाणीकरणले प्रयोगकर्ताको तथ्यांक सुरक्षाप्रति इसेवाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए।

उनले अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार कम्पनीका प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरोन्नति गर्दै जाने बताए ।

प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको इसेवाले जनाएको छ। सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण तथा पहुँच नियन्त्रणजस्ता अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको कम्पनीको भनाइ छ।

पीसीआई डीएसएसको मान्यता प्राप्त हुनु इसेवाको सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी प्रणाली निर्माणतर्फको निरन्तर प्रयासको महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।

इसेवा आईएसओ २७००१ः२०२२ प्रमाणित संस्था पनि हो। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उक्त प्रमाणीकरणले इसेवाका प्रणाली तथा सञ्चालनमा सूचना सुरक्षा जोखिमको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

आगामी दिनमा पनि प्रयोगकर्ताको तथ्यांक तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै जाने प्रतिबद्धता इसेवाले व्यक्त गरेको छ।