काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ ले सवारीसाधनसँगै त्यसलाई सञ्चालनमा राख्ने सम्पूर्ण अटोमोबाइल उद्योगलाई एउटै प्रदर्शनीमा समेट्ने भएको छ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोमा दुई सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्डको सहभागिता रहनेछ।
तर, अटो शोमा सवारी ब्रान्डको मात्र बाहुल्य भने रहने छैन। करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज उपकरण, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारीसाधनका चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।
त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले सवारी कर्जा, बीमा तथा विद्युतीय सवारीसाधनका लागि लक्षित वित्तीय योजनासहित सहभागिता जनाउनेछन्।
आयोजकका अनुसार नेपाली उपभोक्ता सवारीसाधन खरिद गरेपछि लामो समयसम्म अटोमोबाइल क्षेत्रका विभिन्न सेवासँग जोडिन्छन्। सवारी खरिदको निर्णय केही सातामै भए पनि त्यसपछिका वर्षमा वर्कसप, बैंक, बीमा कम्पनी, टायर पसल तथा अन्य सेवाप्रदायकसँग निरन्तर सम्बन्ध रहन्छ। त्यसैले अटो शोमा सवारीसाधनसँगै सवारीको प्रयोगपछि आवश्यक पर्ने सेवा तथा उपकरणलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्न लागिएको हो।
प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसले उपभोक्तालाई सवारी छनोटसँगै कर्जा, बीमा, मर्मतसम्भार तथा आवश्यक उपकरणबारे एउटै स्थानबाट जानकारी लिन सहज हुने आयोजकको विश्वास छ।
यस वर्षको अटो शोमा विभिन्न देशका सवारी ब्रान्ड सहभागी हुँदैछन्। युरोपेली प्रविधिसहितको स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चिनियाँ चेरी समूहअन्तर्गतका ओमोडा तथा जेकु र जीडब्ल्यूएमलगायत ब्रान्डको सहभागिता रहनेछ। जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका सवारीसाधन एकै प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ।
विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई लक्षित गर्दै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन समेत निर्माण गरिएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो सवारीसाधनले भरिएको प्रदर्शनीमा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने पार्ट्स, उपकरण, वित्तीय तथा सेवा क्षेत्र पनि अटोमोबाइल उद्योगको महत्वपूर्ण हिस्सा हो।
‘अटो शो भन्नासाथ गाडीले भरिएको हल भन्ने लाग्छ। तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ। त्यो उद्योग पनि देखिनुपर्छ,’ अध्यक्ष उप्रेतीले भने ।
नाडाका अनुसार पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी सीमित क्षेत्रमा हुने गरेकोमा अहिले तीन लाख वर्गफिट क्षेत्रफलमा विस्तार हुनु केवल सवारीसाधनको संख्या बढेको परिणाम होइन, समग्र अटोमोबाइल उद्योग नै विस्तार भएको संकेत हो ।