• Menu

तत्काल नोटबन्दी गर्ने कुनै योजना छैन, अहिले यो उपयुक्त हुँदैन : अर्थमन्त्री

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १३:३०

तत्काल नोटबन्दी गर्ने कुनै योजना छैन, अहिले यो उपयुक्त हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने बताएका हुन् ।

कार्यक्रममा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने ?’ भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारेका थिए ।

‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।

नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकको अनुभवसमेत अपेक्षाअनुसार सफल नदेखिएको उनले बताए । त्यसैले अहिले नेपालमा नोटबन्दी लागू गर्ने विषय सरकारको प्राथमिकतामा नरहेको उनको भनाइ थियो।