• Menu

भूमिहीन र सहकारीका समस्या सुन्न सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १३:११

भूमिहीन र सहकारीका समस्या सुन्न सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भदौ ६ गतेदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लामा रहने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष रूपमा सुन्नुका साथै सहकारी क्षेत्रका समस्या र भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या बुझ्ने कार्यक्रम रहेको छ ।

मन्त्री रावलले स्थानीय नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा सुझाव सुन्ने बताएकी छन्। स्थानीय तहमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको उनको भनाइ छ ।

भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी गराइनेछ ।

मन्त्रालयसँग सम्बन्धित विषयमा स्थानीयस्तरमै पुगेर समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक समन्वय तथा पहल गर्ने उद्देश्यले सुदूरपश्चिम भ्रमण गर्न लागेको मन्त्री रावलले बताएकी छन् ।