• Menu

भदौ ९ देखि भृकुटीमण्डपमा १८औँ नाडा अटो शो, स्वर्ण जयन्ती वर्ष विशेष उत्सवका रूपमा मनाइने

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १२:०७

भदौ ९ देखि भृकुटीमण्डपमा १८औँ नाडा अटो शो, स्वर्ण जयन्ती वर्ष विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५० वर्षे यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नेपालमा अटोमोबाइल व्यवसायको संस्थागत विकास सुरु भएको पाँच दशक पूरा भएको अवसरमा आयोजना हुन लागेको यस संस्करणलाई नाडाले स्वर्ण जयन्ती संस्करणका रूपमा प्रस्तुत गरेको हो । प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् भने चारपाङ्ग्रे, व्यावसायिक तथा दुईपाङ्ग्रे सवारीसाधनका विभिन्न ब्रान्डको सहभागिता रहनेछ।

नाडाका अनुसार प्रदर्शनीमा २३ वटा चारपाङ्ग्रे, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन र १३ वटा दुईपाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन्। यस्तै, पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी गरी १० वटा संस्थासमेत मेलामा सहभागी हुनेछन्।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोले नेपालमा विस्तार हुँदै गएको अटोमोबाइल तथा गतिशीलता क्षेत्रको पछिल्लो अवस्था, प्रविधि र सम्भावनालाई एकै स्थानमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।

नाडाका अनुसार नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। सो अवधिमा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ ।

विद्युतीय सवारीसाधनतर्फ पनि नेपाली बजारमा उल्लेख्य विस्तार भएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिइसकेका छन् भने तिनका लागि करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो एउटा संस्थाको उत्सव मात्र नभई पाँच दशकमा समग्र अटोमोबाइल उद्योगले पुर्‍याएको योगदानको समीक्षा गर्ने अवसर भएको बताएका छन् ।

नेपालको अटोमोबाइल क्षेत्रलाई सवारीसाधनको आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व योगदान, हरित प्रविधिको विस्तार तथा आर्थिक गतिविधिको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर भूमिका खेल्दै आएको जनाएको छ।

स्वर्ण जयन्ती संस्करणको अटो शोले नेपाली सडक तथा यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ प्रविधि र सम्भावनाबारे जानकारी दिने अपेक्षा गरिएको छ।