• Menu

हरित उद्यमी र किसानलाई वित्तीय सहयोग पुर्‍याउन कुमारी बैंक र हेल्भेटास नेपालबीच सम्झौता

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १३:१७

हरित उद्यमी र किसानलाई वित्तीय सहयोग पुर्‍याउन कुमारी बैंक र हेल्भेटास नेपालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास नेपालबीच हरित तथा दिगो उद्यममा संलग्न लघु उद्यमी, किसान, युवा तथा अन्य महत्वपूर्ण मूल्य शृंखलाका साझेदारको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण समझदारी भएको छ।

समझदारीपत्रमा कुमारी बैंकका प्रमुख बजार तथा लगानी अधिकृत चन्दन काकी र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृंखलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार, व्यवसाय विकाससम्बन्धी सहयोग तथा आवश्यक क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन्। यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवर्धन र मूल्य शृंखला सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमको विकासका लागि वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्ने बताए । उनका अनुसार सहकार्यले हरित तथा जलवायु-उत्थानशील व्यवसायलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना, नवप्रवर्तन र स्थानीय आर्थिक विकासलाई सहयोग पुर्‍याउनेछ।

हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृंखलासम्बन्धी अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेर सम्भावनायुक्त हरित व्यवसायलाई दीर्घकालीन आधार प्रदान गर्ने लक्ष्य राखिएको छ।

यस सहकार्यबाट वित्तीय संस्था, उद्यमी, किसान तथा हरित मूल्य शृंखलामा संलग्न अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। साथै, उद्यमीले प्राप्त गर्ने वित्तीय स्रोतको प्रभावकारी परिचालन तथा व्यवस्थापनका लागि क्षमता विकासमा समेत जोड दिइनेछ।

कुमारी बैंकले आफ्ना देशभरका शाखा तथा सेवा सञ्जालमार्फत यी पहललाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल देशभर २७९ शाखा, २८६ एटिएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ तथा १,२२३ भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा रहेका छन्।

ग्राहकमुखी नवप्रवर्तन, उत्तरदायी बैंकिङ तथा दिगो वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले हेल्भेटास नेपालसँगको सहकार्यबाट आर्थिक रूपमा सक्षम हरित उद्यमको विकास, रोजगारी सिर्जना तथा जलवायु-उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यस सहकार्यले नेपालमा स्वच्छ, समावेशी, दिगो तथा जलवायु-उत्थानशील अर्थतन्त्र निर्माणका लागि थप आधार तयार गर्ने अपेक्षा गरिएको छ।